बाढी पहिरोको चार अर्ब ८७ करोड दावी भुक्तानी : सिद्धार्थ प्रिमियरको मात्रै एक अर्ब, अरुको कति ?

काठमाडौं । गत असोज महिनामा गएको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले चार अर्ब ८७ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको जेठ २८ गतेसम्मको विवरण अनुसार तीन हजार ५६ वटा बीमा दावी वापत उक्त रकम भुक्तानी गरिएको हो । यसमा कम्पनीहरुले दिएको अग्रिम बीमा दावी भुक्तानी समेत समावेश गरेको छ ।
बीमा दावी परेको ८ महिना वित्तीसक्दा समेत अधिकांश बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीमा अटेरी गर्दै आएका छन् । कम्पनीहरुले बीमितहरुले सही र समयमै आवश्यक तथ्यांक उपलब्ध नगराएको र सर्भेयरको प्रतिवेदन ढिलाईले बीमा दावी भुक्तानी ढिला भएको गुनासो गर्दै आएका छ ।
कम्पनीहरुले समीक्षा अवधिसम्ममा ६९६ वटा बीमा दावी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीहरुले अझै ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्न बाँकी रहेको छ । नियमनकारी निकाय बीमा प्राधिकरणले समेत बीमितहरुलाई समयमै बीमा दावी भुक्तानी गरेर बीमाप्रति सकारात्मक सन्देश प्रवाह गर्न निर्देशन समेत दिएको छ ।
बीमा कम्पनीका अधिकांश सीईओ र विभिन्न निकायहरुले बीमा दावी भुक्तानी समयमै गरेर बीमाप्रति नागरिकको गलत धारणा चिर्नको लागि बाढी पहिरोको दावी अवसर भएको प्रतिक्रिया दिदै आएका थिए । तर, बोलि र व्यवहारमा निकै फरक पाइएको छ ।
विवरण अनुसार बीमा दावी भुक्तानीमा शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स उत्कृष्ट बन्दै आएको देखाएको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले ४५८ वटा बीमा दावी वापत ५६ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२८ वटा बीमा दावी वापत एक अर्ब ६७ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बाढी पहिरो तथा विभिन्न समयमा बीमा दावीको लागि निवेदन पेश गरेका बीमितहरुलाई समेत सक्दो चाँडो आवश्यक विवरण संकलन गरी बाँकी रहेको बीमा दावी भुक्तानी गरेर लैजान सार्वजनिक सूचना प्रकाशित गरेर आग्रह गरेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेनले ३५७ वटा बीमा दावी वापत ५७ करोड ७३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २७० वटा बीमा दावी बापत ४८ करोड २२ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २३५ वटा बीमा दावी बापत ४२ करोड २६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९८ वटा बीमा दावी वापत ४१ करोड ७१ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १६७ वटा बीमा दावी वापत ३१ करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी भएको छ ।
यस्तै, स्टार माइक्रोले २२ लाख रुपैयाँ, प्रोटेक्टीभ माईक्रोले दुई लाख रुपैयाँ, नेपाल माइक्राले पाँच लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले पाँच लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।
हालसम्म सम्पत्ति बीमामा मात्रै तीन अर्ब ४४ करोड २१ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । यसैगरि इन्जीनियरीङमा सात करोड ३० लाख रुपैयाँ, मोटर बीमा (निजी) ३७ करोड २२ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) २८ करोड २७ लाख रुपैयाँ, सामुद्रिक बीमामा एक करोड ७८ हजार, पशुपंक्षी बीमा तीन करोड ७१ लाख र कृषि बाली बीमामा एक करोड पाँच लाख रुपैयाँ बराबर बीमा दावी भुक्तानी गरेका छन् ।