राजावादी आन्दोलनको तोडफोडमा १ करोड ५८ लाख बीमा दाबी भुक्तानी

काठमाडौं । गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा भड्किएको हिंसा र तोडफोडको कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको ४ करोड २१ लाख ८० हजार रुपैयाँको दाबी निवेदन परेकोमा १ करोड ४५ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ।
तीनकुने घट्नाको क्रममा भएको तोडफोडबाट जम्मा ५० वटा दाबी निवेदन परेको थियो। जसमध्ये नेशनल इन्स्योरेन्स कम्पनीमा मात्रै ११ वटा, सिद्धार्थ प्रिमियरमा ८ वटा, सलिकोमा ७ वटा, आईजीआई प्रुडेन्सियलमा ६ वटा, शिखरमा ५ वटा र नेकोमा ४ वटा दाबी निवेदन परेको छ भने अन्य कम्पनीमा १ देखि २ वटासम्म परेको छ।
जसमध्ये ८ वटा कम्पनीहरूले दाबी भुक्तानी आंशिक मात्रामा दिइसकेका छन् भने ४ वटा कम्पनीले हालसम्म कुनै दाबी भुक्तानी दिएका छैनन्। नेशनल लाइफ र सलिको र सिद्धार्थ प्रिमियरले ६ वटाको दाबी भुक्तानी प्रदान गरिसकेका छन्। शिखरले ५ वटाको दाबी भुक्तानी दिएको छ भने आईजीआईले ३ वटाको दाबी भुक्तानी दिएको छ। नेकोले २ वटाको भुक्तानी दिंदा नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले १/१ वटाको दाबी भुक्तानी दिएका छन्।
यस घटनाबाट परेको जम्मा ५० वटा दाबी निवेदनमध्ये ३० वटा दाबी निवेदन बापत १ करोड ५८ लाख ४५ हजार रुपैयाँको दाबी भुक्तानी भइसकेको छ भने अझै २० वटा निवेदन बापतको २ करोड ५५ लाख ८२ हजार रुपैयाँको दाबी भुक्तानी दिन बाँकी रहेको छ।
जसमध्ये घर तथा भवन तोडफोड र आगजनी बापत सम्पत्ति बीमाको मात्रै २१ वटा दाबी निवेदन बापत २ करोड ५३ लाख ८८ हजार दाबी माग भएको छ। त्यस्तै निजी मोटरमा तोडफोड र आगजनी गरेकोमा २४ वटा निवेदन बापत १ करोड ३५ लाख ८२ हजार रुपैयाँको दाबी माग भएको छ।
सरकारी मोटरमा भएको तोडफोड र आगजनीबाट २ वटा निवेदन परेको छ। जसबाट १६ लाख १० हजार रुपैयाँ दाबी माग भएको छ।