सञ्चालनमा आयो ग्वार्कोमा निर्मित ओभरपास, सवारी जाम घट्ने
६ असार २०८२, शुक्रबार १६:५२

काठमाडौं । ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ । उक्त ओभरपासको शुक्रबार दिउँसो रिबन काटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेका छन् ।
उता उक्त ओभरपासको ताम्रपत्र प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन् । अब सवारीचालकले रिङ रोडमा गुड्दा यो ओभरपास प्रयोग गर्न पाउने भएका छन् । यो ओभरपास तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो ।
इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।