वैवाहिक वर्षगाँठमा लक्ष्मी केसीले श्रीमानलाई दिइन् ‘जीवनसाथी पोलिसी’ उपहार

१५ आश्विन २०८३, बिहीबार १७:४२

काठमाडौँ ।  एलआईसी नेपालमा विगत १४ वर्षदेखि अभिकर्ता तथा एजेन्सी मेनेजरका रूपमा कार्यरत लक्ष्मी केसीले आफ्नो सातौँ वैवाहिक वर्षगाँठको अवसरमा श्रीमान उज्वल ओझालाई ‘जीवनसाथी पोलिसी’ उपहार दिएकी छन्।

रुपन्देहीको भैरहवामा रहेर प्रत्यक्ष तथा अनलाइनमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा परामर्श दिँदै आएकी केसीले आफ्नो वैवाहिक वर्षगाँठलाई विशेष र सम्झनायोग्य बनाउँदै श्रीमान्लाई जीवन बीमा पोलिसी उपहार दिएकी हुन्। बीमा क्षेत्रमा सक्रिय केसीले आफ्नो व्यावसायिक यात्रामा विभिन्न उपलब्धि हासिल गर्दै गोल्ड मेडल, सीओटी, एमडीआरटी तथा चेयरमेन क्लब लगायतका सम्मान तथा उपाधि प्राप्त गरिसकेकी छन्।

विशेष अवसरमा महँगा तथा क्षणिक उपहार दिने प्रचलनलाई जीवन बीमासँग जोड्न सकिने धारणा राख्दै केसीले विवाह, वैवाहिक वर्षगाँठ, जन्मदिनलगायतका अवसरमा आफन्त, जीवनसाथी वा परिवारका सदस्यलाई जीवन बीमा पोलिसी उपहार दिने संस्कारको विकास गर्न सकिने बताइन्।

उनका अनुसार जीवन बीमा केवल बचत गर्ने माध्यम मात्र नभई परिवारको आर्थिक सुरक्षा र जोखिम बहनसँग जोडिएको महत्वपूर्ण साधन हो। नियमित बचत गर्ने बानीको विकाससँगै भविष्यमा आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले विशेष अवसरमा जीवन बीमा पोलिसी उपहार दिनु अर्थपूर्ण हुने उनको भनाइ छ।

“विशेष दिनमा दिइने उपहार केही समयपछि हराउन सक्छ, तर जीवन बीमाको उपहारले परिवारको भविष्य र सुरक्षासँग जोडिएको अर्थ राख्छ,” केसीले भनिन्।

आफ्नो विशेष दिनलाई फरक ढंगले मनाउँदै श्रीमान्लाई जीवनसाथी पोलिसी उपहार दिएर उनले जीवन बीमालाई केवल आर्थिक कारोबारका रूपमा नभई माया, जिम्मेवारी र भविष्यको सुरक्षासँग जोडिएको उपहारका रूपमा स्थापित गर्न सकिने सन्देशसमेत दिएकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*