यस्तो छ प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्धको अभियोगपत्र

१५ आश्विन २०८३, बिहीबार १६:२१

काठमाडौं। अंजली इन्टरनेशनललाई स्वीकृत भएको भनिएको थप कर्जा रकम उपलब्ध नगराएको आरोपमा तत्कालीन सनराइज बैंक तथा वर्तमान प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्र दायर भएको छ। तत्कालीन सनराइजका  नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई पनि प्रतिवादी बनाइएको छ। चारै जना फरार रहेको उल्लेख गर्दै सरकारी वकिलले अदालतबाट म्याद पुर्जी जारी गर्न माग गरेको छ।

अभियोगपत्रअनुसार अंजली इन्टरनेशनलले व्यवसाय विस्तारका लागि माग गरेको थप ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा २०८० वैशाख ५ गते बैंकको केन्द्रीय कार्यालयबाट स्वीकृत भएको थियो।

सोही दिन ऋणीको थप सुरक्षणका लागि बाराको अमावस्थित कित्ता नम्बर २९९ को जग्गा बैंकको पक्षमा ८९ लाख रुपैयाँ बराबरको धितोबन्धक गरिएको थियो। तर धितोबन्धक गरेपछि पनि उक्त रकम कम्पनीको खातामा जम्मा नभएको जाहेरवालीको दाबी छ।

सम्बन्धित बैंक अधिकारीहरूले रकम उपलब्ध गराउने आश्वासन दिए पनि कर्जा प्रवाह नभएको र पछि अधिकारीहरूसँग सम्पर्क हुन नसकेको जाहेरीमा उल्लेख छ। बैंकले प्रहरीलाई पठाएको पत्रमा पनि उक्त जग्गा अंजली इन्टरनेशनलले उपभोग गरिरहेको कर्जाको सुरक्षणका रूपमा बैंकको पक्षमा धितोबन्धक गरिएको स्वीकार गरेको अभियोगपत्रमा जनाइएको छ।

 

 

प्रभु बैंकका सीईओ किन भए बेपत्ता ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*