अझै माथि उठ्न सकेन पुँजी बजारः बेच्दै धमाधम शेयर, दशैंको प्रभाव कि सरकारप्रतिको अविश्वास ?

१५ आश्विन २०८३, बिहीबार १५:०६

काठमाडौँ । शेयर बजार सुधारका लागि नीतिगत पहल भइरहे पनि त्यसको प्रभाव बजारको चालमा अपेक्षाकृत देखिन सकेको छैन । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा नियामक निकाय, लगानीकर्ता तथा सरोकारवालाबीच बजार सुधारका विषयमा छलफल भइरहेका बेला लगानीकर्ताको मनोबल भने अझै कमजोर देखिएको छ । सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको २१ बुँदे राहत तथा सुधार प्याकेज, पुँजीगत लाभकरमा गरिएको कटौती तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा देखिएका आशंका कम गर्ने प्रयासले सकारात्मक वातावरण बनाउन खोजे पनि बजारमा त्यसको तत्कालीन प्रभाव सीमित देखिएको हो ।

नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित केही व्यवस्थामा लचकता अपनाउनुका साथै नेपाल धितोपत्र बोर्डले पनि बजारको सुधार र लगानीकर्ताको विश्वास बढाउने दिशामा पहल गरिरहेको छ । लामो समयको गिरावटका कारण कतिपय कम्पनीका शेयरमूल्य आकर्षक तहमा पुगेका छन् । साथै, सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्न थालेकाले बजारमा माग बढ्ने अपेक्षा पनि गरिएको थियो । तर, समग्र बजारप्रतिको अनिश्चितताका कारण त्यस्ता सकारात्मक पक्षले मात्रै लगानीकर्तालाई ठूलो मात्रामा बजारमा फर्काउन सकेका छैनन् ।

विशेषगरी दशैं नजिकिँदै जाँदा घरायसी तथा चाडपर्वका खर्च व्यवस्थापन गर्न केही लगानीकर्ताले शेयर बिक्री गर्ने प्रवृत्ति बढेको देखिन्छ । बजारमा नयाँ रकम भित्रिने गति कमजोर रहेको अवस्थामा बिक्रीको दबाब थपिँदा शेयरमूल्यमा सुधार आउन कठिन भएको बजार सहभागीहरू बताउँछन् । त्यसमाथि ठूला लगानीकर्ताको लगानी स्रोत र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा देखिएको चासोका कारण ठूलो रकम परिचालन गर्ने वर्ग थप सचेत बनेको बताइन्छ । ठूला लगानीकर्ताको सक्रियता कमजोर हुँदा साना तथा मध्यम लगानीकर्ताको सहभागिताले मात्रै बजारमा पर्याप्त माग सिर्जना गर्न चुनौती देखिएको छ ।

यसैबीच पछिल्लो समय आएको बाढीपहिरोबाट विभिन्न क्षेत्रमा पुगेको क्षति तथा त्यसको सम्भावित असरले पनि लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेको छ । प्राकृतिक विपत्तिका कारण केही सूचीकृत कम्पनीको व्यवसायमा समेत असर पर्न सक्ने भएकाले लगानीकर्ता कम्पनी छनोटमा थप सावधानी अपनाइरहेका छन् । वित्तीय अवस्था राम्रो भएका कम्पनी, लाभांश क्षमता र घटेको शेयरमूल्यलाई आधार बनाएर लगानीको अवसर खोज्ने अवस्था रहे पनि दशैंको खर्च व्यवस्थापन, बजारको अनिश्चितता र नयाँ मागको कमीले तत्काल बलियो सुधारको आधार बन्न सकेको छैन ।

आज बजार अन्तिम समयमा ०.२६ अकंले बढेर २५९९.१५ बिन्दुमा कायम भएको छ । बिहिबार ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् भने एकउपसूचक स्थिर रहेको छ । ४ उपसूचकमा भने सामान्य सुधार देखिएको हो ।

आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयरको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*