सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक

२३ पुष २०८०, सोमबार १७:२०

काठमाडौं । सूचना चलखेल विरुद्ध केन्द्रित स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । इन्टरनेशनल रिब्लिकन इस्टिच्यूट, नेशनल डेमोक्रेटिक इन्स्टच्यूट र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले अंग्रेजीमा तयार पारेको कम्ब्याटिङ इन्फरमेसन म्यानिपुलेसन, ए प्लेबुक फर इलेक्सन एण्ड बियोण्ड नामको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी राजधानीमा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

स्रोत पुस्तिकामा सूचनाको चलखेल लोकतन्त्रिक प्रकृयालाई प्रभाव पार्ने वा बाधा पुर्याउनका लागि सूचना संकलनदेखि प्रकाशन प्रसारणसम्म हस्तक्षेप गर्ने सुनियोजित रणनीतिलाई सूचनाको चलखेलको रूपमा परिभाषित गरिएको छ । पुस्तिकामा सूचनाको चलखेल गर्ने उपद्रवी पात्रहरु, सूचनाको चलखेल गर्नुको उद्देश्य, सूचनाको चलखेलले पार्ने प्रभाव, सूचनाको चलखेल हुने माध्यमहरु, सूचनाको चलखेललाई न्यूनीकरण गर्न गर्न चाल्नु पर्ने कदम लगायतबारे उल्लेख छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चारका उपप्राध्यापक ऋषिकेश दाहालले नेपालमा गरिएको अनुसन्धानले इन्टरनेटको पहूँचसँगै जानीबुझीकन अरुलाई नोक्सानी पुर्याउने नियतले मिथ्या सूचना फैलाउने क्रम बढेको जानकारी दिएका छन् ।

इन्टरनेशनल फाउन्डेसन फर इलेक्सन सिस्टमका सिनियर कन्ट्रि डाइरेक्टर बासु मोहनले निर्वाचनका बेला विश्वव्यापी रुपमा सूचनाको चलखेल बढी हुने गरेको बताउँदै त्यसलाई न्यूनीकरणका लागि अन्तरदेशिय पहल आवश्यक रहेको बताएका छन् ।

उहाँले यस्ता पुस्तकको स्थानीय भाषामा उल्थाले सूचनाको चलखेल सम्बन्धी बहसलाई व्यापक बनाउन र निर्वाचनमा त्यस्ता चलखेलको प्रभाव कम गर्न सरोकारवालालाई प्रेरित गर्ने बताउका छन् । सूचना चलखेलले लोकतान्त्रिक प्रक्रियामा पार्ने प्रभाव कम गर्न सबैको सामुहिक प्रयत्न जरुरी रहेको मोहनको भनाइ थियो ।

सिएमआर जर्नालिज एकाडेमीका निर्देशक उज्ज्वल आचार्यले सूचना चलखेल सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका प्रवृत्तिहरु नेपालमा पनि देखिएकाले स्रोत पुस्तिकाले सूचनाको चलखेल न्यूनीकरणका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

इन्टरनेशनल रिब्लिकन इस्टिच्यूटका सिनियर प्रोग्राम म्यानेजर युवराज आचार्यले निर्वाचनका बेला सूचना चलखेल बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयास जरुरी रहेको बताएका छन् ।

कार्यक्रमका सहभागीहरुले सूचना चलखेल र मिथ्या सूचनामा नेपालमा पनि चुनौतीका रुपमा देखा परेको बताएका थिए । सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक पाठकले नेपालमा सूचना चलखेलको न्यूनीकरणका लागि सेन्टरले फ्याक्ट चेकिङ, मिडिया तथा सूचना साक्षरता, तालिम, नीतिहरुमा बहस लगायत सञ्चालन गरेको जानकारी दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*