काठमाडौं उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

१५ आश्विन २०८३, बिहीबार ०९:४४

काठमाडौं। भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा असोज १५ गतेदेखि २६ गतेसम्म चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो।

प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकेर भूमिगत विद्युत् लाइन सञ्चालनमा ल्याउने तथा आगामी हिउँदमा बढ्न सक्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक कार्य गरिनेछ।

असोज १५ गते सतुंगल–बौथली क्षेत्र, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र र १७ गते मुलपानी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यसैगरी असोज १८ गते गर्जुधारा, २० गते मुलपानी, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी र २४ गते सिफल क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने प्राधिकरणले जनाएको छ।

यस्तै, असोज २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरी भूमिगत विद्युत् वितरण प्रणालीसँग सम्बन्धित काम गरिनेछ।

निर्धारित समयअनुसार विद्युत् आपूर्ति बन्द हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*