विदेशी मुद्राको सटही रोकिँदा जटिल मोडमा इन्टरनेट सेवा उद्योग

२९ पुष २०८०, आईतवार १०:५४

काठमाडौँ । व्यवसायीलाई खुलेर तथा जिम्मेवार भएर काम गर्ने वातावरण निमार्ण गरिदिन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले सरकारको ध्यानाकर्षण गराएको छ । क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारेमा सरकारको ध्यानाकर्षण गराएको हो ।

क्यानले जारी गरेको उक्त विज्ञप्तिमा नेपाल सरकारले विदेशी मुद्राको सटही रोकिदिएपछि अहिले नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको उल्लेख गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न नपाएको विज्ञप्तिमा जनाइएको छ ।

क्यानले भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिएपछि इन्टरनेट सेवा सम्बधी व्यवसायी मारमा परेको जनाएको छ । गाँस, बास, कपास सरह अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेटको भविष्य अन्यौलमा देखिनु अतिनै दुःखदायी क्षण भएको क्यानले बताएको छ ।

यसबाट हुने असर प्रत्यक्ष रुपमा आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमा नै पर्ने देखिएको भन्दै मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै सुल्झ्याउनु उचित हुने जनाएको छ ।

सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भए गरेका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई समेत आधार मानी सरकारलेनै निकासमा दिनुपर्ने भनाई क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारको रहेको छ । साथै उनले नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यावसायिक वातावरणको निमार्ण गर्ने र हाल इन्टरनेट सेवामा देखिएका समस्याको अन्त्य गर्ने दायित्व पनि सरकारको नै भएको दाबी गरेका छन् ।

त्यसैगरी, नेपालमा संचालित इन्टरनेट र सूचना सञ्चार प्रविधि व्यवसायलाई अनावश्यक दुःख तथा हैरानी र दबाब दिनाले डिजिटल नेपालको आकांक्षा पुरा हुन नसक्ने दाबी क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले गरेका छन् ।

सरकारलाई क्यानले लचिलो भएर जटिलता समाधानका लागि कदम चाल्न अनुरोध गरेको छ । साथै, सरकारले यसका लागि आवश्यक कदम चालेको खण्डमा सरकारलाई सहयोग तथा सहजीकरण गर्न क्यान महासंघ तयार रहेको स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*