तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसहित नेपाली टोलीद्वारा स्थलगत निरीक्षण

१५ आश्विन २०८३, बिहीबार १३:०१

काठमाडौं । लामो समयदेखि बन्द रहेको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनमा ल्याउन नेपाल र चीनका अधिकारीले पहल थालेका छन् । यही क्रममा मंगलबार नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित नेपाली अधिकारीले सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

परराष्ट्र, अर्थ तथा वाणिज्य मन्त्रालयका साथै भन्सार र सडक विभागका अधिकारी सहभागी टोलीले तातोपानीसम्म पुग्ने सडक, सीमा क्षेत्र लिपिङ तथा भन्सार यार्डको अवस्थाबारे स्थलगत जानकारी लिएको हो । नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रमकाजी खड्काले गरेका थिए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माका अनुसार सडकको वास्तविक अवस्था बुझ्न चिनियाँ उपनियोग प्रमुख फानसहित दुवै पक्षका अधिकारी सीमा क्षेत्रमा पुगेका हुन् । निरीक्षणका क्रममा तातोपानीसम्मको सडक तथा भन्सार पूर्वाधारको वर्तमान अवस्थाबारे चिनियाँ पक्षलाई जानकारी गराइएको थियो ।

चीनसँगको सबैभन्दा छोटो दूरीको व्यापारिक नाकाका रूपमा रहेको तातोपानी सञ्चालनमा आए दसैँ–तिहारका लागि आवश्यक सामग्री तथा अन्य व्यापारिक सामान राजधानी भित्र्याउन सहज हुने सरकारी अधिकारीहरूको अपेक्षा छ ।

यसअघि १० भदौमा आएको भोटेकोशी बाढीका कारण रसुवागढी नाका बन्द भएपछि चीनबाट सामान आयातका लागि कोरला नाकामाथि निर्भर हुनुपरेको थियो । अविरल वर्षा र हिमपातबीच कठिन परिस्थितिमा कोरला हुँदै सामान ल्याइए पनि पछिल्लो समय ८ देखि ११ असोजसम्म भएको वर्षाले राजधानीतर्फको आवागमन थप प्रभावित बनाएको छ । यससँगै कोरला हुँदै सामान काठमाडौं ल्याउने विकल्पसमेत कठिन बनेपछि तातोपानी नाका सञ्चालनका लागि नेपाल र चीन दुवै पक्षले सक्रियता बढाएका हुन् ।

तातोपानीतर्फ भने ३१ असारदेखि नै आवागमन प्रभावित हुँदै आएको थियो । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–लिपिङ करिब २६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा पहिरो जानुका साथै कोदारी सडकको इको, घट्टेखोला र डाक्लाङ क्षेत्रमा समेत पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय चरिकोटले निरन्तर काम गरेर सडक सञ्चालनयोग्य बनाए पनि चिनियाँ पक्षले सूचना जारी गर्दै एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेको थियो । अहिले भने काठमाडौं–तातोपानी–लिपिङ सडकमा आवागमन गर्न सकिने अवस्था रहेको र चिनियाँ कन्टेनरलाई तातोपानीस्थित भन्सार यार्डसम्म ल्याउनसमेत समस्या नरहेको अधिकारीहरूले बताएका छन् ।

नाका सञ्चालनका लागि स्थलगत अवस्था बुझेर आवश्यक समन्वय अघि बढाइएकाले अब चिनियाँ पक्षको निर्णयपछि तातोपानी नाका पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नाका खुलेमा दसैँ–तिहारको मुखमा चीनबाट आयात हुने दैनिक उपभोग्य तथा व्यापारिक सामग्री काठमाडौं ल्याउन वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*