टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा १६ जना च्यापिएर घाइते

टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ।
सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका १६ जना च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
घाइते हुनेमा ललितपुरकी तिर्सना मगर, सिन्धुपाल्चोककी अन्जना तामाङ, धादिङकी रेजिना घले, धनकुटाकी निकिता मगर, बर्दियाकी रेखा चौधरी, प्युठानकी अनिसा केसी, कैलालीकी कल्पना चौधरी र सुनसरीकी मन्दिरा बस्नेत रहेका छन्।
यस्तै, ललितपुरकी मिना थापा, कैलालीकी रिजा रेस्मी मगर, पाल्पाकी निशा राना, संखुवासभाकी निर्मला श्रेष्ठ, ललितपुरकी रश्मी नेपाल, दोलखाकी युनिका बराल र उदयपुरकी करिश्मा मगर पनि घाइते छिन्। घाइतेमध्ये एक जना त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढा मगर समेत छन्।
अत्यधिक भीड हुँदा अनियन्त्रित भएर केही व्यक्तिहरू च्यापिन पुगेका थिए। त्यही क्रममा मानिसहरू घाइते भएका हुन्।












