हिमालयन रि’ले उचाल्यो शेयर बजार, २८ महिना यताकै उच्च कारोबार, लगानीकर्ता उत्साही

३ माघ २०८०, बुधबार १६:१६

काठमाडौं । शेयर बजार परिसूचक नेप्से करेक्सन लगत्तै बढेकाले सही गति पक्डिएको भन्दै लगानीकर्ताहरु उत्साही भएका छन् । करेक्सन लगत्तै नेप्सेमा २८ महिनायता कै उच्च कारोबार भएसँगै लगानीकर्ता उत्साही भएका हुन् ।

बुधबार ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यो २०७८ भदौ २१ पछिको उच्च कारोबार हो । त्यस दिन ९ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको आँकडा छ ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष एवं शेयर लगानीकर्ता छोटेलाल रौनियारले करेक्सन लगत्तै शेयर बजारमा आएको सुधारले लगानीकर्ताहरु पूँजीबजारमा फर्किएको संकेत गरेको बताए ।

बीमापोष्टसँग उनले भने, ‘पूराना लगानीकर्ताहरु फर्किएका छन् भने केही नयाँ पनि थपिएका छन् ।’ उनका अनुसार बैंकको व्याज लगातार घटिरहेका कारण शेयरबजारमा लगानीकर्ताहरु फर्किन थालेका छन् ।

बैंकबाट कर्जा लिनेको संख्या बढेपनि ठूलो कर्जा लिनेहरु मौद्रीक नीतिको दोस्रो समीक्षा र बैंकको व्याजदर अझै सुध्रिने अवसर कुरिरहेको रौनियारले बताए । मौद्रीक नीतिको अर्को समीक्षाले लगानीकर्तालाई थप सहज पार्ने अपेक्षा आफुहरुले गरेको उनले बताए ।

अर्थ मन्त्रालयले आफ्नो र राष्ट्र बैंकले आफ्नो काम गरिदिने हो भने कतै पनि समस्या नहुने पूँजी बजारका लगानीकर्ताहरुको धारणा छ ।

साढे ९ अर्ब माथिको शेयर किनबेचमा सबैभन्दा उच्च कारोबार हिमालयन रि इन्स्योरेन्सको छ । बुधबार हिमालयन रि’को ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कम्पनीको शेयर मूल्य सर्किट लागेर प्रतिकित्ता ६०२.२० रुपैयाँ पुग्यो । हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्यमा कारोबार सुरु भएको दिनदेखि नै सकारात्मक सर्किट लागिरहेको छ ।

बुधबार शेयर कारोबार खुलेको २ घण्टामा बढेर २२१५ अंकमा पुगेको नेप्से घटेर अन्तिममा २१६३.०६ विन्दु कायम भयो । यस दिन शेयर बजारमा ६० अंकको उतारचढाव भएको छ । बजार बन्द हुनु २ मिनेटअघि नेप्से २१५५ विन्दुमा ओर्लिएको थियो । यो गिरावटलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने शेयर बजारका पण्डितहरुको भनाइ छ । प्रोफिट बुकिङका कारण बजारमा करेक्सन देखिएको उनीहरुको तर्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*