सरकारी अनुदानको पखाईमा हेटौँडा सिमेन्ट, माघ तेस्रो साताबाट संचालन गर्ने तयारी

काठमाडौँ । हेटौँडा सिमेन्टले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने गरी तयारी अगाडि बढाएको छ । कोइला ब्यवस्थापन नहुदा तीन महिनादेखि अलपत्र परेको उत्पादन अब तत्काल सुरु गर्ने तयारीमा लागेको हो ।
सरकारले अनुदान उपलब्ध गराउन सके माघ २० गतेभित्र संचालन गर्ने सिमेन्ट उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन आग्रह गरेका छन् ।
कम्पनी स्रोत जुटाउन तिर लागि परेको हुँदा सरकारबाट अनुदान प्राप्त भए पश्चात माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ ।
नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने छ । अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ ।
उद्योगलाई अनुदान दिनका लागि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले सकारात्मक रहेको बताएका थिए । मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउनेतर्फ पनि विचारविमर्श भइरहेको बताएका थिए ।












