ट्रम्प ह्वाइटहाउस छिर्नुअघि आकाशियो बिट्क्वाइनको भाउ, गोटाकै १ लाख डलर

२० मंसिर २०८१, बिहीबार १०:१४

एजेन्सी । अभौतिक अर्थात् भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख डलर पुगेको छ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्रिप्टो-मैत्री नीति अपनाउने आशामा विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ आकाशिएको हो ।

ट्रम्पले वाल स्ट्रिटको नियमन गर्ने जिम्मा सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)का पूर्व आयुक्त पल अट्किन्सलाई दिने घोषणा गर्ने बित्तिकै बिट्क्वाइनको भाउ यसरी उछालिएको हो ।

अहिलेका सेक प्रमुख गेरी जेन्सलरको तुलनामा अट्किन्सलाई अझै बढी क्रिप्टो समर्थकका रुपमा हेरिन्छ । क्वाइन मार्केट क्यापको विश्लेषण अनुसार पछिल्लो वृद्धिसँगै बिट्क्वाइनको बजार पूँजीकरण ३३ खर्ब डलरमा पुगेको छ ।

गएको महिना भएको निर्वाचनमा ट्रम्पले बाजी मारेयता बिट्क्वाइनको भाउ निरन्तर उकालो चढिरहेको थियो । नोभेम्बर ५ मा अमेरिकामा निर्वाचन भएयता मात्रै बिट्क्वाइनको भाउ ४० प्रतिशतले बढेको बताइएको छ । सन् २०२४ को शुरुवातयताको समग्रतामा हेर्ने हो भने बिट्क्वाइनको भाउ दोब्बर भन्दा माथि पुगेको ठानिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*