माओवादीको प्रतिक्रिया : विचौलिया जोगाउन उर्जामन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले उर्जामन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने कार्य अस्वभाविक भएको भन्दै विरोध गरेको छ ।
बिहीबार बसेको पार्टी पदाधिकारीको बैठकले उर्जामन्त्री दिपक खड्काले चालेको कदमको विरोध गरेको हो । बैठकपछि माओवादी केन्द्रका नेताले भने, ‘यो गतिविधिले प्राधिकरणको काममा अवरोध गरेको छ । विचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसविरुद्ध हामी व्यवस्थित खवरदारी सभा गर्नेछौ ।’ नेपालको इतिहासमा हालसम्म नभएको कुरा उर्जामन्त्रीले गरेर जग हँसाएको निष्कर्ष माओवादीले निकालेको छ ।
यस्तै, माओवादी केन्द्रले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निश्कर्ष समेत निकालेको उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक समिक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्वपुर्ण अवसरहरु प्रदान गरेको छ ।
‘माओवादी एकतावद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले भने, ‘ एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सवै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनगर्ठनको आधार उपचुनावले दिएको छ ।’
उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने उनको भनाइ छ ।













