नगरपालिकाका पूर्वप्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा धनगढीमाइ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल बगालसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ। उनीहरूमाथि औषधि खरिद प्रक्रियामा अनियमितता गर्दै ४ लाख ६० हजार ८१० रुपैयाँको हिनामिना गरेको आरोप लागेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८।७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि विनियोजित सस्शर्त अनुदान रकममध्ये १७ प्रकारका औषधि खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी मूल्य राखिएको पाइएको छ। अनुसन्धानका क्रममा औषधि खरिद नगरी फर्जी बिलमार्फत रकम निकासा गरिएको तथ्य खुलेको छ। मुद्दामा प्रमुख प्रशासकीय अधिकृत बगाल, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद, स्वास्थ्य शाखाका तत्कालीन प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत याद र हेल्पिङ मल्टिप्रपोज प्रालिका प्रबन्ध निर्देशक माधव प्रसाद गौतम संलग्न रहेको अख्तियारले जनाएको छ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक संस्थालाई हानि पुर्याएको अभियोगमा बिगो बराबरको दाबी र कानूनी सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार यस अनियमितताले नगरपालिकाको स्वास्थ्य सेवा सुधारको उद्देश्यमा प्रतिकूल प्रभाव पारेको छ।













