सोल्टी होटलमा डिसेम्बर ७ मा एवन बजार हुने, अमेरिकी राजदूतले उद्घाटन गर्ने

काठमाडौं । आउँदो शनिबार डिसेम्बर ७ मा काठमाडौंको सोल्टी होटलमा एक्टिभ उमन अफ नेपाल (एवन) द्वारा आयोजित वार्षिक एवन बजार आयोजना हुने भएको छ। विगत चार दशकदेखि सञ्चालन हुँदै आएको यो बजारको २०२४ संस्करण अमेरिकी राजदूत डिन आर थम्पसनले बिहान ११ बजे उद्घाटन गर्नेछन्।
कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूको सहभागिता रहनेछ। एक सयभन्दा बढी स्टल रहने यस बजारमा स्थानीय उत्पादन, स्टार्टअप कम्पनीहरू, अर्गानिक उत्पादन, फेसनवेयर, हस्तकलाका सामग्री र क्रिसमस सजावटका सामग्री समेत रहनेछन्।
बालबालिकाको लागि विभिन्न खेल तथा गतिविधिहरूको व्यवस्था गरिएको यस बजारबाट संकलित रकम एवनका च्यारिटेबल कार्यहरूमा खर्च गरिनेछ। ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एवन नेपालकै पूरानो परोपकारी संस्थामध्ये एक हो।
एवनले भूकम्प, कोभिड, बाढी पहिरोजस्ता दैवी प्रकोपमा विभिन्न सहयोग गर्दै आएको छ। संस्थाले असहाय तथा विपन्न व्यक्तिलाई ह्विलचेयर वितरण, औषधि उपचार सहयोग र छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
एवनकी प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठले यो बजार मनोरञ्जन मात्र नभई परोपकारी भावनाको साटासाट गर्ने अवसर भएको बताइन्। एवन बजारमार्फत नयाँ वर्षको स्वागतका साथै सहयोगका प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।
सोल्टी होटल परिसरमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बजारको मुख्य प्रायोजकमा यात्रा म्यागेजिन, टर्किस एयरलाइन्स, नेपाल एयरलाइन्स, यती एयरलाइन्स, आइविवी वेवि डाईपर, केफ किचन एप्लाईन्सेस, अरुण चौधरी फाउण्डेसन, ग्लोबल आईएमई बैंक, सुमेरु हस्पिटल, ट्रान्क्विवालिटी स्पा, रुपिज् इन्टरनेशलन स्कूल र प्राईक कमर्सिय बैंक लगायत रहेका छन्।
सोल्टी होटलका महाप्रबन्धक अविनाश देशमुखले समुदायको उत्थानका लागि समर्थन गर्ने द सोल्टी होटेल्स एण्ड रिसोट्र्सको प्रतिबद्धतासँग मेल खाने कार्यक्रम एवन बजारको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताए।











