भुटानी राजा वाङ्चुक एकाएक काठमाडौंमा, पूर्व राजालाई भेट्दा प्रधानमन्त्री र राष्ट्रपतिलाई टेरेनन्

काठमाडौं। भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार एकाएक काठमाडौंमा देखिएका छन् । शुक्रबार बिहान भारतबाट काठमाडौं आएका नाम्ग्यालले स्वयंभूनाथ अवलोकन गर्न भ्यााएका छन् ।
निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनले स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथको अवलोकन गर्ने बताइएको छ । स्वयम्भूनाथ र बौद्धनाथको अवलोकन दर्शन सकेर उनी शुक्रबारै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ । उनले काठमाडौं आउनासाथ पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेको र ज्ञानेन्द्रलाई भेटेपछि मात्रै स्वयम्भूनाथको दर्शन गर्न गएको बुझिएको छ ।
पूर्वराजालाई भेटेका वाङचुकले नेपालका प्रधानमन्त्री, राष्ट्रपति वा राजनीतिक दलका नेताहरुलाई भेट्न मानेनन् । बौद्धनाथको दर्शनलगत्तै उनी उतैउतैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ ।















