काठमाडौँका मःम पसलमा सरसफाइको लापरबाही, ८८ प्रतिशतमा देखियो समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन भइरहेका मःम पसलहरुमध्ये धेरैजसोमा सरसफाइ, भान्छाको अवस्था, र व्यक्तिगत स्वच्छतामा गम्भीर समस्या पाइएको छ। महानगरपालिकाको अनुगमन टोलीले कार्तिक २९ गतेदेखि हालसम्म अनुगमन गरेका ८५ वटा होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइमा कमजोरी रहेको प्रतिवेदनमा उल्लेख छ।
अनुगमनका क्रममा ६६ वटा (७७.६५%) पसलमा भान्छा र कार्यस्थल सफा नरहेको पाइएको छ। १८ वटा (२१.१८%) पसलले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका छन्। मसला र अचार राख्ने भाँडाहरू फोहर, भान्छाको भुइँमा पानी जमेर दुर्गन्धित, र डस्टविनको सही प्रयोग नगरेको अनुगमन टोलीले पत्ता लगाएको छ।
पसलहरूले मांसाहारी र शाकाहारी भोजन सँगसँगै भण्डारण गर्ने, पकाइएको र काँचो खाना एकै ठाउँमा राख्ने, र फ्रिज सफा नगर्ने गरेको भेटिएको छ। फ्रिजमा सामान कोचेर राखिएको, अचार र मसलामा लेबल नरहेको, र मःम बनाउने उपकरणहरू फोहर अवस्थामा रहेको पाइएको छ।
अनुगमनका क्रममा भेटिएका धेरैजसो कर्मचारीहरूले भान्छा वा होटलमा लगाउने एप्रोन बाहिर समेत लगाउने गरेको पाइएको छ। व्यक्तिगत सामान भान्छामा राख्ने, र मूल्य सूची नराख्ने प्रथाले ग्राहकहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा रहेको जनाइएको छ।
अनुगमन टोलीले स्थलगत रूपमा सुझाव र निर्देशन दिएर सुधारका लागि पहल गरेको छ। हालसम्म ८ वटा होटल तथा रेष्टुरेन्टले सुधार गरेर भिडियो र फोटोसहित प्रमाण पेस गरेका छन्। सरसफाइमा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि चेतावनी र दर्ता नभएका पसलहरूलाई समयसीमा तोकिएको छ।
महानगरपालिकाले ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै व्यवसायीहरूलाई स्वच्छता मापदण्ड पालना गर्न र कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। अनुगमनको क्रमलाई अझै कडाइका साथ निरन्तरता दिइने जनाइएको छ।
ग्राहकहरूले पनि स्वच्छता र व्यवसाय दर्ताको अवस्थाबारे सचेत रहन आग्रह गरिएको छ। ग्राहकको सुरक्षाका लागि यस्तो अनुगमन आवश्यक रहेको महानगरले बताएको छ।













