आइजीआई प्रुडेन्सियलले कमायो १४ करोड नाफा, प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँ

३० माघ २०८१, बुधबार ०८:५०

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा २२ दशमलव १४ प्रतिशतले कम हो। गत आवमा कम्पनीले १८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो। चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन घटेकाले नाफामा दबाब परेको हो।

गत आवमा कम्पनीको कुल आम्दानी ९० करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर ८९ करोड ७८ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ५१ करोड २३ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ५० करोड ८ लाख रुपैयाँमा कायम भएको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १२ रुपैयाँ १३ पैसा रहेकोमा चालू आवमा घटेर ९ रुपैयाँ ४५ पैसा कायम भएको छ।

चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

गत आवमा कम्पनीको निर्जीवन बीमा कोषमा ४ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ९२ करोड रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ९० रुपैयाँ ९४ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*