उच्च हिमाली क्षेत्रमा भारी हिमपात

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र भारतको ओडिशा तटीय क्षेत्र पार गरेसँगै त्यसको प्रभाव नेपालमा बढेको छ। उक्त प्रणालीको प्रभावका कारण आज र भोलि नेपालका अधिकांश भेगमा भारी वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसहित भारी हिमपात हुने मौसम पूर्वानुमान गरिएको छ।
मौसम विज्ञान विभागका अनुसार शक्तिशाली न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीचबाट अघि बढ्दै कलिङ्गपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटीय क्षेत्र पार गरेको हो। उक्त प्रणाली उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने अनुमान गरिएको छ।
न्यूनचापीय प्रणालीको प्रभावले नेपालभर बदली भएको छ भने अधिकांश स्थानमा वर्षा भइरहेको छ। विभागका अनुसार उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ।
सगरमाथा क्षेत्रमा पनि बुधबारदेखि सुरु भएको हिमपात बिहीबार दिनभर जारी रहेको छ। सगरमाथा आधार शिविरस्थित पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्टका अनुसार लगातार हिमपात भइरहेको छ।










