नेपाल स्काउट शुद्धीकरण अभियानले गर्‍यो चार प्रमुख माग गर्दै आन्दोलनको घोषणा

२७ फाल्गुन २०८१, मंगलवार १४:०५

काठमाडौँ । नेपाल स्काउटमा व्याप्त अनियमितता र अपारदर्शिता अन्त्य गर्न नेपाल स्काउट शुद्धीकरण अभियानले चार प्रमुख माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्था बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए। उनले स्काउटको नेतृत्व तहमा भएका नीतिगत कमजोरी, आर्थिक अपारदर्शिता, कर्मचारी प्रशासनमा गरिएको अन्यायपूर्ण नियमावली र कार्यस्थलमा दुर्व्यवहार जस्ता समस्याहरू समाधान गर्न सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए।

अभियानका अनुसार, नेपाल स्काउटमा भएका अनियमितताहरूको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्छ। उनीहरूले कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गर्नुपर्ने र कर्मचारीको हित संरक्षण गर्नुपर्ने माग पनि अघि सारेका छन्। यसैगरी, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि दर्ता भएका आरोपहरूको निष्पक्ष छानबिन गर्नुपर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने पनि अभियानले जोड दिएको छ। अन्ततः, नेपाल स्काउटको वित्तीय र प्रशासनिक प्रक्रिया पारदर्शी बनाई संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

अभियानले सरकार र सम्बन्धित निकायलाई सुधारका लागि समयमै कदम चालेका छैन भने थप आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी पनि दिएको छ। यसै क्रममा, अभियानका प्रतिनिधिहरूले फागुन ६ गते प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्र प्रधानमन्त्री र नेपाल स्काउटका संरक्षक समक्ष पनि पठाइएको थियो।

अभियानका संयोजक अधिकारीले आरोप लगाउँदै भने, “नेपाल स्काउटका नेतृत्व तह सरकारको दबाबमा रहेको छ, यदि सरकारले गम्भीरता नदेखाए भने हामी थप कडा आन्दोलन गर्न बाध्य हुने छौँ।’’

अभियानले अब चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। फागुन २७ गते नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय अगाडि मौन धर्ना प्रदर्शन गरिनेछ भने चैत १ गतेदेखि रिले अनशनसहितको धर्ना थाल्ने निर्णय गरिएको छ। अभियानले चेतावनी दिएको छ कि यदि माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने तयारी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*