भारी वर्षाले देशभरका सडक अस्तव्यस्त, दर्जनौं राजमार्ग र सडकखण्ड अवरुद्ध

११ आश्विन २०८३, आईतवार ०८:०८

काठमाडौं । लगातारको वर्षाका कारण देशभरका दर्जनौं सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ। बाढी, पहिरो, सडक कटान र सडक भासिने समस्या बढेपछि विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त सडकमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार रसुवाको पासाङ ल्हामु राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध छ। त्रिशूली नदीले सडकको ठूलो भाग कटान गरेपछि त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी जाने मुख्य सडक सञ्चालनमा आउन सकेको छैन। स्याफ्रुबेँसीसम्म पुग्न टोखा–छहरे हुँदै विदुर, धुन्चे र स्याफ्रुबेँसी जोड्ने वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिनेछ। नुवाकोटको टोखा–छहरे सडकमा भने अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।

कोशी प्रदेशका ताप्लेजुङ, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा पनि भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकमा रातिको समयमा सवारी आवागमन रोकिएको छ। अधिकांश सडकमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म तथा सोलुखुम्बुमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ। धादिङमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा लगातार पहिरो गइरहेकाले अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ। काभ्रेमा बीपी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ।

मकवानपुरमा पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवागमनका लागि त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गराइएको छ। तर उक्त मार्गमा पनि निश्चित समय तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ। १५ टनभन्दा बढी भार भएका र १० चक्काभन्दा बढीका मालवाहक सवारीलाई उक्त सडकमा रोक लगाइएको छ भने यात्रुवाहक सवारीमा समेत लम्बाइको सीमा तोकिएको छ। सिन्धुलीमा बीपी राजमार्गमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। दोलखामा जिल्लाभरका सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। काभ्रेमा बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीलाई राति ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ।

गण्डकी प्रदेशमा पनि सडक अवस्था जोखिमपूर्ण बनेको छ। मनाङमा बेंसीसहर–खाङसार सडकमा रातिको समयमा सवारी आवागमन रोकिएको छ भने चामे–बेंसीसहर सडकखण्डमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पर्वतमा मध्यपहाडी लोकमार्गको करिब ५० किलोमिटर सडकखण्ड रातिको समयमा बन्द गरिएको छ। म्याग्दीमा बेनी–जोमसोम सडक बैसरी र सुकेबगर क्षेत्रमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। मुस्ताङमा जोमसोम–कोरला सडकका विभिन्न स्थानमा पहिरो तथा लेदोका कारण आवागमन रोकिएको छ। पर्वतको कुश्मास्थित तमादी खोलामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लमजुङको बेंसीसहर–मनाङ सडकखण्डमा पनि पहिरोका कारण आवागमन बन्द भएको छ।

गुल्मीका विभिन्न सडकमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। रिडी–तम्घास मदन भण्डारी राजमार्ग, रुद्रबेणी–वामीटक्सार सडक र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा लेदो आएर सडक अवरुद्ध भएको छ। बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका सडकमा पहिरो खसेपछि आवागमन बन्द भएको छ। रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्गमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सल्यानको राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा पनि ढुंगा, लेदो र माटोसहितको पहिरो खसेपछि सडक बन्द भएको छ। कालिकोटमा कर्णाली राजमार्ग र हुम्लामा कर्णाली करिडोर पहिरोका कारण अवरुद्ध भएका छन्।

लुम्बिनी तथा सुदूरपश्चिमतर्फ पनि सडकको अवस्था प्रभावित छ। दार्चुलाको महाकाली राजमार्गमा ठूलो ढुंगा खसेपछि सडक अवरुद्ध भए पनि साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको छ। पाल्पामा सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा रुख ढलेपछि सडक बन्द भएको छ। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डमा पनि पहिरोका कारण आवागमन रोकिएको छ। डोटी जिल्लामा निरन्तर वर्षाका कारण जोखिम बढेपछि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।

काठमाडौं उपत्यकानजिकै ललितपुरको कान्तिलोकपथ पनि वर्षाका कारण प्रभावित भएको छ। बागमती गाउँपालिका–३ टाकुर्चे क्षेत्रमा लेदोसहितको पहिरो तथा पाङदुरडोलमा ढुंगा खसेपछि सडक अवरुद्ध भएको छ। तनहुँमा पृथ्वी राजमार्गका घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरा क्षेत्रमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। स्याङ्जाको सिद्धार्थ राजमार्गमा पनि लगातारको वर्षाका कारण लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। यसैबीच, दाङमा तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी, घोराही–मुर्कुटी र तुलसीपुर–कालीमाटी सडकखण्डमा वर्षाको जोखिमका कारण रातिको समयमा आवागमन बन्द गरिएको छ। तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोला पुलमा समेत संरचनागत समस्या आएपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*