आउँदो चैतमा काठमाडौंमा ‘वर्ड क्याम्प नेपाल’ हुँदै

२७ फाल्गुन २०८१, मंगलवार १७:५८

काठमाडौं । वर्ड क्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्ड प्रेस काठमाडौंको आयोजनामा २२ र २३ चैत दुई दिन वर्ड क्याम्प नेपाल २०२५ कुण्डलिनी दरबारमा हुन लागेको हो ।

काठमाडौंको चण्डोलमा हुने कार्यक्रममा वर्ड प्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने, वर्ड प्रेस विशेषज्ञ तथा वर्ड प्रेस जान्न उत्सुकहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ । सन् २०१२ देखि नेपालमा वर्ड क्याम्प आयोजना हुँदै आएको छ । वर्ड क्याम्प वर्ड प्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

वर्ड प्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने, साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्ड क्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेश, अमेरिका, युरोपेली मुलुकबाट स्वदेशी तथा विदेशी सहभागीहरू उपस्थित हुनेछन् । यसअन्तर्गत अन्तर्क्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरलगायत रहने वर्डप्रेस काठमाडौंले जनाएको छ ।

सम्मेलनका लागि चाँडै नै अनलाइन रजिस्ट्रेसनको प्रक्रिया खुलिसकेको छ ।

कार्यक्रमको पहिलो दिनलाई कन्ट्रिब्युटर डे भनिएको छ, जुन दिन वर्डप्रेसको ओपन सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन्। यो दिन टिम लिडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसका मापदण्डहरू र दिशानिर्देशबारे मार्गदर्शन गर्नेछन् । यसैगरी वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर प्रोग्रामर दुवै खालको योगदान कसरी गर्न सकिन्छ भन्नेबारे सिक्न र बुझ्न पाइने आयोजकको भनाइ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*