महोत्तरी मालपोत कार्यालयका खरिदार र लेखापढी ३५ हजार घुससहित पक्राउ
२८ फाल्गुन २०८१, बुधबार ०८:५०

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले पक्राउ गरेको हो।
टोलीले उनीहरूलाई फागुन २७ गते घुस लिइसकेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट पक्राउ गरेको हो। अख्तियारले हाल उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।












