काठमाडौंको आकाशमा धुलोको घेरो, वायु प्रदूषणले विश्वकै शीर्ष स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश पछिल्लो सातादेखि बाक्लो धुलो र धुवाँले ढाकिएको छ, जसका कारण वायु प्रदूषण अत्यन्तै खतरनाक स्तरमा पुगेको छ।
आइतबार बिहान स्वीस प्रविधिको वातावरण मापन संस्था आईक्यू एअरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका हाल विश्वको सबैभन्दा प्रदूषित शहर बन्न पुगेको छ। उपत्यकाको वायु गुणस्तर सूचकांक २९० मा पुगेको छ, जुन ‘अत्यन्त अस्वस्थकर’ श्रेणीमा पर्छ।
यसै सूचीमा भारतको राजधानी दिल्ली दोस्रो स्थानमा रहँदा, पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ।
विशेषज्ञहरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, मुलुकका विभिन्न ठाउँमा फैलिएका डढेलो र त्यसबाट उठ्ने धुवाँ काठमाडौं आइपुगेपछि प्रदूषण थप भयावह बनेको हो। उपत्यकाको आकाश दिनभर नै धमिलो देखिनु यसैको संकेत हो।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंवासीलाई स्वास्थ्य सचेतना अपनाउन अपिल गरेको छ। मन्त्रालयले वायुको खतरनाक अवस्थामा वृद्धि भइरहेकाले बिना आवश्यक काम घरबाहिर नजान, जानै परेमा गुणस्तरीय मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।













