स्काईवेल चलाएर युरोप घुम्ने अवसर, ग्राहकलाई यूरोपमै ड्राइभ गराउने विशेष योजना सार्वजनिक

२७ चैत्र २०८१, बुधबार १३:५२

 

काठमाडौँ ।  अब युरोपमा नेपालीहरूले स्काईवेल चलाउने सपना साकार हुने भएको छ। नेपाली बजारमा उपलब्ध लक्जरी एसयुभी स्काईवेलको ड्राइभिङ अनुभवलाई युरोपको सडकमा पनि अनुभव गराउने उद्देश्यले स्काईवेल नेपालले ‘स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोप’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।

जि मोटर्स प्रा. लि. द्वारा आयातित स्काईवेल एसयुभी खरिद गर्ने ग्राहकका जोडीलाई कम्पनीले युरोप भ्रमणमा लैजाने योजना ल्याएको हो। यस योजनाअन्तर्गत स्काईवेलको ‘विई ११’ र ‘ईटी ५’ मोडलमध्ये कुनै पनि खरिद गर्ने ग्राहक जोडीलाई स्काईवेलले युरोप भ्रमणमा सहभागी गराउनेछ। यस भ्रमणमा ग्राहकहरूले स्काईवेल गाडी युरोपमै चलाउने अवसरसमेत प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार स्काईवेल ड्राइभ २०२५ योजना केवल गाडी खरिदकर्ताका लागि मात्र नभई टेस्ट ड्राइभ गर्ने सम्भावित ग्राहकका लागि पनि खुला छ। सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेस्ट ड्राइभ गर्ने र त्यसको अनुभव सोसल मिडियामा #TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्यागसहित पोष्ट गर्ने मध्ये एक जना पुरुष र एक जना महिलालाई पनि युरोप भ्रमणको मौका दिइने बताइएको छ।

स्काईवेल ब्राण्ड युरोपेली बजारमा समेत लोकप्रिय रहँदै आएको छ। युरोपेली सुरक्षा मापदण्डअनुसार स्काईवेल विई ११ ले सिएनक्याप (C-NCAP) क्र्यास टेस्टमा फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ। चिनियाँ उत्पादन भए पनि युरोपेली युनियनको सर्टिफिकेशन प्राप्त गर्ने यो पहिलो इलेक्ट्रिक गाडीसमेत हो।

नेपालमा उपलब्ध स्काईवेलको विई ११ मोडल दुई भेरियन्टमा छ। ४१० किलोमिटर रेन्जको मोडलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ रहेको छ भने ५२० किलोमिटर रेन्जको मोडल ८९ लाख ९० हजार रुपैयाँमा उपलब्ध छ। यस्तै, स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्ट ६२० किलोमिटर रेन्जसहितको मूल्य १ करोड १५ लाख रुपैयाँ तोकिएको छ।

यी दुवै मोडल फुल साइज एसयुभी हुन् जसमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स, लक्जरी इन्टेरियर, उच्च सुरक्षा प्रविधि, स्मार्ट फिचरहरूजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्। कम्पनीले यिनलाई ‘बिजनेस क्लास एसयुभी’ को रूपमा पनि चिनाउने गरेको छ।

नेपालमा स्काईवेलको सेवा र बिक्री सञ्जाल पनि क्रमशः विस्तार भैरहेको छ। कम्पनीले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरिसकेको छ। साथै नक्साल, विराटनगर, चितवन, पोखरा लगायतका शहरहरूमा स्काईवेल शोरुम सञ्चालनमा छन्।

कम्पनीका अनुसार यो योजना स्काईवेलको अन्तर्राष्ट्रिय उपस्थिति र विश्वसनीयतालाई नेपालका ग्राहकसमक्ष प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने उद्देश्यले ल्याइएको हो। गाडी चलाएर युरोप भ्रमण गर्ने अनुभव नेपाली ग्राहकका लागि नयाँ र अविस्मरणीय बन्ने विश्वास कम्पनीले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*