चैत १५ का पक्राउ नछोडे सामूहिक गिरफ्तारी दिने राजावादीहरुको चेतावनी

२७ चैत्र २०८१, बुधबार १५:४८

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले चैत १५ गतेको घटनापछि पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ नभए सामूहिक गिरफ्तारीको बाटो रोज्ने चेतावनी दिएको छ। बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले वैशाख २१ सम्म पक्राउ परेका सबैलाई रिहाइ नगरे वैशाख २२ मा स्वस्फूर्तरूपमा गिरफ्तार हुन तयार हुने बताए।

उनले उक्त दिनदेखि ‘भ्रद्र अवज्ञा’ आन्दोलन सुरु हुने स्पष्ट पारे। ‘अबको आन्दोलन सशस्त्र होइन, तर निरन्तर दबाबमूलक हुनेछ’ गुरुङले भने, ‘हाम्रो आन्दोलनलाई कमजोर ठानिएको भ्रम छरिएको छ, तर हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं।’ गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपारेर राजसंस्था पक्षधर आन्दोलनलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाए।

त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेको सभालाई राज्यलेनै उग्र रूप दिएको दाबी गर्दै उक्त घटनाका नाममा संघीय गणतन्त्रलाई संरक्षण गर्न संविधानमा परिवर्तनको तयारी भइरहेको संकेत दिए। ‘संविधान संशोधनमार्फत संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई स्थायी बनाउन खोजिएको छ’ उनले भने, त्यो प्रयास भयो भने मुलुकमा गम्भीर अशान्तिको अवस्था आउन सक्छ।’

राजसंस्था समर्थक समूहले आन्दोलनलाई निरन्तरता दिने संकेत दिँदै वैशाख २१ पछि राजनैतिक समीकरण फेरिने दाबी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*