मकवानपुरको बकैयामा बस पल्टिँदा ३१ जना घाइते

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाको चिसापानी बजार नजिक यात्रुबस पल्टिँदा ३१ जना घाइते भएका छन्।
सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको यात्रुबस बिहीबार राति करिब ९ः३० बजे अनियन्त्रित भई पल्टिएको हो।दुर्घटना चिसापानी बजारस्थित धरान–चतरा सडकखण्डको घुम्तीमा भएका हो।
बसमा भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाबाट अगुवा कृषक र प्राविधिकहरू भ्रमण सकेर फर्किंदै थिए। उनीहरू घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। अन्य यात्रुहरूको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेका छन्। अहिले फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।











