हावाहुरीका कारण कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध
२८ चैत्र २०८१, बिहीबार १२:०२

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार राति आएको हावाहुरी र चट्याङका कारण विद्युत र टेलिफोन सेवामा अवरोध आएको छ। हावाहुरी र वर्षाका कारण रुख र पोल ढल्दा कोहलपुर–सुर्खेत र कुइने-बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी विद्युत प्रसारण लाइन अवरुद्ध भएका हुन्।
कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन केवल सुर्खेतको रामघाटसम्म सञ्चालनमा रहेको छ भने अन्य भागमा मर्मतका लागि प्राविधिक टोली खटिएको छ। पश्चिम सुर्खेतको ३३ केभी लाइनको क्षतिको विवरण अझै पत्ता नलागेको र खोजी कार्य जारी रहेको जनाइएको छ।
कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्ने यी दुई प्रमुख लाइनको अवरुद्ध हुँदा सम्पूर्ण कर्णाली प्रदेश प्रभावित भएको छ। रुख ढल्ने र पोलहरू खसेको कारण विद्युत सेवा पुनः सञ्चालन गर्न समय लाग्ने अनुमान गरिएको छ।













