राप्रपाको निषेधित क्षेत्रमा प्रदर्शनको घोषणा, वैशाख ७ मा काठमाडौंमा उत्रने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नागरिकको शान्तिपूर्ण विरोध गर्ने अधिकारमा प्रतिबन्ध लगाउँदै गएको आरोप लगाए। ‘कसलाई कहाँ प्रदर्शन गर्न पाइन्छ भनेर राज्यले क्षेत्र छुट्याउँदै मौलिक हक सीमित गर्न थालेको छ’ लिङ्देनले भने, ‘यही अस्वाभाविक प्रवृत्तिको विरोधमा निषेधित क्षेत्रमा नै प्रदर्शन गर्ने निर्णय गरेका हौं।’
बैठकले वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शन गर्ने कार्यक्रम समेत तय गरेको छ। यसबाहेक, उपत्यकाभित्र वडास्तरसम्म संगठन विस्तार र सुदृढीकरणका कार्यक्रमहरू सञ्चालन गरिने र आन्दोलनलाई जनस्तरसम्म पुर्याइने बताइएको छ।
राप्रपाले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता रविन्द्र मिश्र, धवलशमशेर राणा र अन्य कार्यकर्ताको रिहाइको मागसमेत उठाएको छ।












