तस्करीको सामान भण्डारण गरिएको गोदाममा छापा, पाउडर दूध र चिनी जस्ता खाद्य वस्तु बरामद

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका ४ स्थित माँ धमिनी डेरी उद्योगको गोप्य गोदाममा सुरक्षाकर्मी र भन्सार टोलीको संयुक्त प्रयासमा छापा मारी अवैध रूपमा तस्करी गरिएका सामानहरू बरामद गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र माडर भन्सार कार्यालयको टोलीले बिहीबार साँझ गोप्य सूचनाका आधारमा सो गोदाममा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार छापा मार्ने क्रममा भारतबाट भन्सार छलेर अवैध रूपले ल्याइएका पाउडर दूध र चिनीजस्ता खाद्यवस्तुहरू गोदाममा भण्डारण गरिएको भेटिएको छ। साथै, तस्कर समूहका व्यक्तिहरुले छापा मार्दा हुलदंगा गर्न खोज्दा केही समयको लागि स्थिति तनावपूर्ण बनेको थियो। तर, सुरक्षाकर्मी र भन्सार टोलीको संयमित क्रियावलीले गोदाम सिल गर्न सफल भएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार, गोदाममा बरामद गरिएका सामानको मूल्यांकन र सम्बन्धित कागजातहरूको अध्ययन जारी छ। यसपछि, आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। तस्कर गिरोहले भारतबाट अवैध रूपमा खाद्य सामग्री भन्सार छलेर नेपाल भित्र्याएर गोलबजारमा भण्डारण गरी अन्यत्र वितरण गर्दै आएको जानकारी प्रहरीले दिएको छ।













