पूर्वअर्थमन्त्री डा. महतद्वारा प्रधानमन्त्री ओलीकाे विराेध

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको कार्यसम्पादनमा अपेक्षित प्रभावकारिता नदेखिएको टिप्पणी गरेका छन्। आइतबार प्रेस युनियन दाङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले जनताका बढ्दो गुनासाहरूलाई सम्बोधन गर्ने काममा सरकार कमजोर देखिएको बताए।
उनका अनुसार दुई ठूला राजनीतिक शक्तिहरूको समर्थनमा गठन भएको सरकार जनअपेक्षाअनुरूप नतिजा दिन असफल भएको छ। ‘प्रधानमन्त्रीले आफ्नो भूमिकामा सशक्त उपस्थिति जनाउन सकेका छैनन्,” महतले भने, “शिक्षक आन्दोलन, गर्भनर नियुक्ति र सुशासन जस्ता ज्वलन्त मुद्दाहरूमा सन्तुलित पहल नदेखिनु दुर्भाग्यपूर्ण हो।’
गर्भनर नियुक्ति प्रक्रियामा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले योग्य र अर्थतन्त्रको दिशानिर्देशन गर्न सक्ने व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। ‘नेपाली कांग्रेस सक्षम र अनुभवी व्यक्तिलाई गर्भनर बनाउन पक्षधर छ’ उनले स्पष्ट पारे।
महतले सरकारको समन्वय र सहकार्यको अभावका कारण जनतामा निराशा बढेको बताए। उनले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाँडेर जनताको भावना खेलबाड नगर्न चेतावनी पनि दिए।
सहकारी संस्थाहरूमा देखिएको अपचलनका विषयमा बोल्दै उनले साना बचतकर्ताको पैसा सम्बन्धित व्यक्तिहरूबाट असुल उपर गरेर फिर्ता गरिनु पर्नेमा जोड दिए। ‘सरकारले पीडित बचतकर्ताको हितलाई पहिलो प्राथमिकता दिनु पर्छ’ महतले भने।
पूर्वराजसंस्थासँग सम्बन्धित प्रसङ्गमा उनले गणतन्त्रको स्थायित्वमा दृढ विश्वास व्यक्त गरे। ‘राजसंस्थाको निरङ्कुश शैलीकै कारण गणतन्त्र स्थापना भएको हो। अहिले राजा फर्कने सम्भावना छैन’ महतले दोहोर्याए।













