विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन: प्राधिकरण

१५ बैशाख २०८२, सोमबार १०:२६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङसम्बन्धी हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको र घरायसी ग्राहकका लागि लोडसेडिङको सम्भावना समेत नरहेको स्पष्ट पारेको हो।

प्राधिकरणले सामाजिक सञ्जालमा देखिएको अतिरञ्जित र भ्रामक सूचनाप्रति खण्डन गर्दै हाल देशभर विद्युत् आपूर्ति नियमित रुपमा भइरहेको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गरिने जानकारी दिएको छ। साथै, औद्योगिक क्षेत्रका ग्राहकलाई विशेष गरी बेलुकाको समयमा विद्युत् खपत कम गरेर सहकार्य गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ। यसमध्ये प्राधिकरण स्वामित्वमा रहेका जलविद्युत् आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जा २५ मेगावाट, तापीय ऊर्जा ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २ हजार १४९ मेगावाट रहेको छ।

हाल आन्तरिक विद्युत् उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा, विद्युत्को उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। जसमध्ये १ हजार ५९३ मेगावाट उत्पादन स्वदेशमै सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिँदै आएको छ।

गर्मीको मौसम सुरु भएसँगै भारतमा समेत विद्युत् माग बढेकाले विशेष गरी रातको समयमा आयातमा केही चुनौतीहरू देखिए पनि, घरायसी ग्राहकलाई अविच्छिन्न आपूर्ति गरिएको र उद्योगहरूलाई पनि अधिकांश समयमा विद्युत् आपूर्ति गरिँदै आएको प्राधिकरणले स्पष्ट पारेको छ।

यद्यपि, हालको मौसमका कारण कतिपय स्थानहरूमा आँधीहुरी, चट्याङ र अविरल वर्षाले विद्युत् संरचनामा क्षति पुगेको र त्यसका कारण अस्थायी अवरोध हुनसक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। साथै, मर्मत सम्भार, भूमिगत लाइन विस्तार तथा सडक तथा खानेपानी निर्माणका कारण कतैकतै विद्युत् बन्द हुने अवस्था आउन सक्ने प्राधिकरणले चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*