हावाहुरी र असिना पानीले मधेशमा ठूलो क्षति, लाखौंको बीमा दाबी पर्ने

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा गएको हिजो रातिको हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ। रौतहट र बारा जिल्लामा विशेषगरी किसानहरू प्रभावित भएका छन्। किसानको मकैबाली, आँप, लिची लगायतका फलफूल बगैंचा तहसनहस भएका छन् भने धेरै घरहरूको छाना उडाएको र कतिपय घरहरू पूर्ण रूपमा भत्किएको सांसद प्रभु शाहले प्रतिनिधि सभामा जानकारी गराएका छन्।
सांसद शाहले ‘कतिका घरका छाना उडाएको छ, कयौं घर भत्किएको छ। बिजुलीका पोल ढलेका छन्, विजुली प्रसारण पूर्ण रूपमा बन्द छ। सञ्चार सम्पर्क समेत अवरुद्ध भएको छ। यस्तो आपतको बेला राज्य सरकारको उपस्थिति अत्यन्तै जरुरी छ। राहत र क्षतिपूर्ति तत्काल प्रदान गर्नुपर्छ। अरु वर्ष जस्तै यसपटक पनि राज्यको उपस्थिति नदेखिने होस् भन्ने चाहन्न।’
हावाहुरी र असिना पानीले कृषकहरूलाई अत्यधिक क्षति पु-याएकोले बीमा दाबीमा समेत ठूलो वृद्धि हुने देखिएको छ। रौतहट, बारा र आसपासका जिल्लामा कृषिबाली तथा फलफूलका लागि लिइएका बीमा योजनामार्फत लाखौं रुपैयाँ बराबरको दाबी पर्न सक्ने अनुमान गरिएको छ।
बीमा कम्पनीहरूका प्रारम्भिक विवरण अनुसार कृषि बीमा, घर बीमा र केही व्यक्तिगत बीमा योजनाअन्तर्गत प्रभावित किसान र सर्वसाधारणले क्षतिपूर्ति माग्न सक्नेछन्। यद्यपि विस्तृत विवरण संकलन कार्य अझै जारी रहेको र यथार्थपरक क्षतिको आँकडा आउन केही समय लाग्ने बीमा व्यवसायीहरूले बताएका छन्।
यसैबीच, स्थानीय तहहरू पनि प्रारम्भिक क्षति विवरण संकलनमा जुटेका छन्। विभिन्न गाउँपालिका र नगरपालिकाले क्षतिको आँकडा तयार गर्दै प्रदेश तथा संघीय सरकारलाई बुझाउने तयारी गरिरहेका छन्।












