सरकारले जनताको असन्तुष्टिलाई उचित ढंगले सम्बोधन गर्नुपर्छ, परिणाममुखी काम चाहिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभई उचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले राजनीतिक उपलब्धिहरूका बाबजुद आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार नआएकाले असन्तुष्टि देखिएको उल्लेख गरे। उनले भने, ‘असन्तुष्टि हटाउन लाग्नुपर्छ, त्यसलाई उत्तेजनामा लैजानु हुँदैन।’
थापाले अहिलेको अवस्थामा आर्थिक गतिविधि संकुचित भइरहेको बताउँदै केही सुधार गर्न सके अर्थतन्त्रलाई सही दिशातर्फ अघि बढाउन सकिने धारणा राखे। साथै, उनले कांग्रेस र एमालेबीचको सहकार्यलाई निरन्तरता दिइने स्पष्ट पारे। थापाले भने, ‘हामी अहिले एमालेसँग सरकारमा छौं। हाम्रो मुख्य प्राथमिकता भनेकै इकोनोमिमा देखिएका समस्या र संकटलाई सम्बोधन गर्नु हो। कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ— हामी कुनै पनि राजनीतिक साहसिक क्रियाकलापमा लाग्दैनौं, सहज र जिम्मेवार ढंगले अघि बढ्छौं।’
उनले सरकारले काम गर्ने मात्र नभई परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। हामी त रिजल्टमै ध्यान दिन चाहन्छौं’ थापाले भने। उनले असन्तुष्टिलाई व्यापारिक रुपमा प्रयोग नगर्न र उत्तेजना नफैलाउन पनि आग्रह गरे।
थापाका अनुसार कांग्रेस र एमाले मिलेर बनेको सरकारको मुख्य उद्देश्य देशभर फैलिएको असन्तुष्टि र बेचैनी हटाउनु हो। उनले उद्योग, व्यापार फस्टाउन र निजी क्षेत्रलाई चलायमान बनाउन सरकार आवश्यक कानुनी सुधारमा पनि जुट्ने बताएका छन्।













