बीमा बोर्डले विभिन्न अस्पताललाई ३७ अर्ब तिर्न बाँकी, स्वास्थ्य बीमा सङ्कटमा: मन्त्री प्रदीप पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा प्रणाली गम्भीर सङ्कटमा परेको बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्र उद्घाटन समारोहमा उनले वर्तमान स्वास्थ्य बीमा प्रणाली नागरिकमा आधारित नबने गहिरो संकट आउने चेतावनी दिएका हुन् ।
उनले भने, ‘डुब्न लागेको बीमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बीमा प्रणाली लागू गर्नुपर्छ ।’ सरकारले स्वास्थ्य बीमामा १० अर्बभन्दा बढी बजेट विनियोजन नगरे पनि स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताललाई तिर्नुपर्ने रकम ३७ अर्ब रुपैयाँसम्म पुगेको भन्दै मन्त्री पौडेलले अहिलेको बीमा संरचनालाई सुधार नगरे संकट बढ्ने बताए ।
त्यस अवसरमा मन्त्री पौडेलले सहरी क्षेत्रमा नयाँ विशिष्टिकृत अस्पताल थप्न आवश्यक नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनु पर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्ने गरी क्षमता वृद्धि गरे पुग्छ ।’
उनले देशभरका ६ हजार ७४३ वटा वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउनुपर्ने उल्लेख गर्दै, अहिले सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधिको अभावले गुणस्तरीय सेवा दिन नसकेको बताए ।













