राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी अटो उद्योगलाई राहत, विदेशी पार्टपुर्जाको ट्यारिफ घट्ने संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडी उद्योगमाथि परेको ट्यारिफको असर कम गर्न केही आयात महसुल घटाउने तयारी गरेका छन्। उनले अमेरिकामा उत्पादन हुने गाडीहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जामा लाग्ने केही शुल्क घटाउने निर्णय गर्न लागेका हुन्।
वाणिज्य सचिव हावर्ड लुटनिकले यसलाई राष्ट्रपतिको व्यापार नीतिको “ठूलो सफलता” बताउँदै घरेलु उत्पादनलाई प्रोत्साहन दिने कदम भएको बताएका छन्।अर्कातर्फ देशबाहिर उत्पादन गरिएका गाडीहरूमा सामान्य अटो ट्यारिफ भने कायम रहनेछ तर स्टिल र एल्युमिनियममा जस्तो थप शुल्क नलगाइने वॉल स्ट्रिट जर्नलले जनाएको छ। यो कदम राष्ट्रपति ट्रम्पले मिचिगन राज्यमा आयोजना गर्न लागेको र्यालीको पूर्वसन्ध्यामा आएको हो, जुन उनको १०० दिनको कार्यकाल पुरा भएको अवसरमा आयोजना हुँदैछ। मिचिगन ‘डेट्रयट थ्री’ भनिने फोर्ड, जीएम र स्टेलान्टिसजस्ता प्रमुख गाडी उत्पादकहरूको आधार क्षेत्र हो।
जीएम प्रमुख कार्यकारी म्यारी बार्राले राष्ट्रपतिको निर्णयप्रति आभार व्यक्त गरेकी छन्। उनले राष्ट्रपति ट्रम्पसँग भएको सकारात्मक संवादको कदर गर्दै अटो उद्योग र लाखौं अमेरिकी रोजगारीप्रति देखाइएको समर्थन सराहनीय भएको बताइन्। फोर्ड र स्टेलान्टिसले भने यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।
यसअघि अमेरिकी अटो उद्योगसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले राष्ट्रपति ट्रम्पलाई आयात पार्टपुर्जामा प्रस्तावित २५ प्रतिशत महसुल नलगाउन अपिल गरेका थिए। ती समूहहरूले एक संयुक्त पत्रमार्फत यस्तो ट्यारिफले गाडीको मूल्य वृद्धिको साथै बिक्री घटाउने र मर्मतसम्भार महँगो बनाउने चेतावनी दिएका थिए। ट्रम्पले यी ट्यारिफहरू ३ मेदेखि लागू गर्ने तयारीमा रहेको बताएका थिए।













