सुन सिफारिसमा दस्तुर लिएको पाइए कारबाही हुने राष्ट्र बैंकको चेतावनी
१६ बैशाख २०८२, मंगलवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन खरिदका लागि संघ वा महासंघबाट व्यवसायीलाई दिइने सिफारिसमा कुनै पनि किसिमको दस्तुर वा शुल्क नलिन स्पष्ट निर्देशन दिएको छ।
‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ को दफा १४ मा आधारित रही राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो सिफारिस दस्तुर असुल्न नपाइने नियमको पालना गर्न आग्रह गरेको हो।
सूचनामा उल्लेख गरिएको छ कि सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीहरूलाई सिफारिस गर्दा कुनै शुल्क लिनु अवैधानिक ठहरिनेछ।
राष्ट्र बैंकले सो व्यवस्थाको उल्लंघन भएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र कार्यविधिको प्रावधान अनुसार कानुनी कारबाही हुने स्पष्ट पारेको छ।














