‘मिटरब्याजीले मधेस बलिरहेको छ, अब विद्रोहको आगो सल्किन्छ!’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (सि) निकट मधेस प्रदेश समितिले मिटरब्याजी सूदखोर र प्रशासनको मिलेमतोमा उत्पन्न भइरहेको दमनका घटनाहरूको विरोध गर्दै सशक्त जनविद्रोहको चेतावनी दिएको छ। पार्टीका प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेसमा न्यायिक निकाय, प्रहरी, दल तथा सूदखोर साहूहरूको गठबन्धनले जनतालाई पञ्चायती शैलीमा शोषण गरिरहेको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘मधेस प्रदेशमा अहिले स्थानीय जमिन्दार, मिटरब्याजी साहू र तिनले पालेका अदालत, प्रहरी र दलका नाइकेहरूको साँठगाँठमा गरीब जनतालाई अकल्पनीय दमन गरिएको छ।’ धनुषा जिल्लामा मात्रै ११ हजार जनामाथि पक्राउ पूर्जी जारी गरिएको र थुप्रै नागरिक पक्राउ परेका उल्लेख गर्दै पार्टीले केही पीडितहरू भारत पलायन गर्न बाध्य भएको, कतिपय विस्थापित भई पालमुनि जीवन बिताइरहेका दृश्य सार्वजनिक हुँदै गएको जनाएको छ।
राज्य संरचनामाथि गम्भीर प्रश्न उठाउँदै विज्ञप्तिमा २०५२ सालतिरको सामन्तवादी शासनलाई मधेसमा पुनःस्थापित गरिने प्रयास भइरहेको आरोप लगाइएको छ। पार्टीले संघीय सरकार र मधेस प्रदेश सरकारलाई यस अवस्थालाई तुरुन्त रोक्न आग्रह गर्दै, यथास्थितिमा परिवर्तन नभए विद्रोह अपरिहार्य हुने चेतावनी दिएको छ।
साथै, पार्टीले न्यायप्रेमी नागरिक, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीहरूलाई मधेसको यो गम्भीर अवस्थाप्रति चुप नबस्न पनि अनुरोध गरेको छ।














