प्रधानमन्त्री ओलीको घोषणा : आँखा स्वास्थ्य राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिने

१७ बैशाख २०८२, बुधबार १३:५९

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्य सेवा अब राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिने स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइफ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले दृष्टि गुमाउने जोखिममा रहेका जनतालाई ध्यानमा राख्दै प्राथमिक स्वास्थ्य सेवामा आँखा उपचारको पहुँच वृद्धि गरिने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘दिगो विकास लक्ष्यप्रति प्रतिबद्ध रही हामीले आँखा स्वास्थ्यलाई प्राथमिकता दिएका छौं। विशेषगरी गरिब, ग्रामीण र जोखिममा रहेका नागरिकका लागि बीमा कार्यक्रमबाट सहज सेवा सुनिश्चित गरिनेछ।’

उनका अनुसार नेपालमा सन् २०२२ मा ‘बच्न सकिने अन्धोपन’को द्रुत मूल्यांकन सम्पन्न गरिएको थियो, जसले आगामी नीति निर्माण र प्राथमिकता निर्धारणमा सघाउनेछ। उनले सन् २०३० सम्म मोतियाविन्दु शल्यक्रियाको कभरेज हालको ३५–४५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी पनि दिए।

प्रधानमन्त्री ओलीले आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक अविभाज्य अङ्गका रूपमा लिइएको उल्लेख गरे। विद्यालय तहदेखि नै दृष्टि परीक्षण कार्यक्रम सञ्चालन गरेर शिक्षामा समानता र लैंगिक पहुँच विस्तार गर्ने कार्यलाई समेत अघि बढाइएको उनले बताए।

उनले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारका लागि अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको धारणा राख्दै भने, ‘कुनै पनि मुलुक आँखा स्वास्थ्यको यात्रामा एक्लै अघि बढ्न सक्दैन, हामी सबैले सहकार्य गर्नु आवश्यक छ।’

सम्मेलनमा विश्वभरका आँखा विशेषज्ञ, नीति निर्माताहरू तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाको सहभागिता रहेको छ। कार्यक्रमको उद्देश्य सन् २०३० सम्म सबैका लागि दृष्टि पहुँच सुनिश्चित गर्न रणनीति तय गर्नु रहेको आयोजकहरूले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*