सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिहरूले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरवराज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले हस्ताक्षर गरेका हुन्।
कम्पनीका अनुसार, यो सहकार्यले टाटा ब्रान्डका सवारी साधन प्रयोगकर्ताहरूलाई सवारी दुर्घटनापछिको बीमा दाबी प्रक्रिया सहज, छरितो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि यस्तै प्रकारको नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता गरिसकेको छ।
सिप्रदीको दाबीअनुसार, हालसम्म करिब २ हजार ५ सयभन्दा बढी ग्राहकले यो सेवा प्रयोग गरी सजिलै बीमा दाबी प्राप्त गरिसकेका छन्। कम्पनीले भविष्यमा अझ धेरै ग्राहकसम्म सेवा विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने योजना बनाएको छ।
सिप्रदीले बीमा कम्पनीहरूसँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने तयारी पनि गरेको जनाएको छ।













