अब नयाँ आन्दोलनको समय आएको छ: अध्यक्ष प्रचण्ड

१८ बैशाख २०८२, बिहीबार १६:३६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै नयाँ आन्दोलन र आर्थिक क्रान्तिका लागि तयारी थालिएको बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको १३६औँ संस्करणका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यथास्थितिवादी शक्तिसँग मिलेर सरकारमा जानु पार्टीको योजना नरहेको बताए।

‘हामी जनतासँगै ठिक छौं, हाम्रो वर्गसँगै ठिक छौं’ अध्यक्ष दाहालले भने, ‘मिडियामा आउने हल्लाबाट कार्यकर्ता भ्रममा नपर्नुहोस्। हामी फेरि नयाँ आन्दोलन र नयाँ आर्थिक क्रान्तिमा प्रवेश गर्दैछौं।’

उनले संविधान संशोधनसहित मुलुकले भोगिरहेका विविध समस्याहरूको समाधान ‘नयाँ अभियान’ बाट मात्र सम्भव हुने दाबी गरे। माओवादी केन्द्रलाई स्वतन्त्र शक्तिका रूपमा अघि बढ्न नदिने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

‘हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्यौं, देशकै पहिलो पार्टी भयौं’ दाहालले स्मरण गरे, ‘कसैको खुट्टामा टेकेर उभिन सक्दैन भन्ने आरोप अब अस्वीकार्य छ।’

उनले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा माओवादी निकट संगठनले काँग्रेस र एमालेका संगठनहरू मिलेर पनि ऐतिहासिक जित निकालेको उल्लेख गरे। राजनीतिक परिवर्तन उल्ट्याउने दुस्साहस देखिन थालेको भन्दै उनले त्यसलाई रोक्ने जिम्मेवारी माओवादी केन्द्रकै काँधमा आएको बताए।

‘अब नयाँ आन्दोलनको समय आएको छ’ अध्यक्ष प्रचण्डले जोड दिँदै भने, ‘तपाईंहरू पनि आन्दोलनका लागि तयार रहनुहोस्।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*