तीन अर्ब ६० करोड लागतको ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

काठमाडौँ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको लगानीमा निर्माण भइरहेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अब परीक्षण उत्पादनको तयारीमा पुगेको छ। रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भइरहेको उक्त आयोजनाको पूर्वाधार निर्माण कार्य सकिएको र परीक्षणको चरणमा रहेको जानकारी दिइएको छ।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह र स्वीचयार्ड क्षेत्रका सम्पूर्ण कामहरू सम्पन्न भइसकेको प्लान्ट म्यानेजर विनोद पौडेलले जानकारी दिए। उनका अनुसार विद्युत्गृहमा टर्बाइन लगायतका सम्पूर्ण मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण पनि गरिसकिएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोड्नका लागि आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आगामी जेठ १ गतेभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ। यसका लागि प्रसारण लाइनको टावरमा तार तान्ने काम हाल तीव्र गतिमा अगाडि बढिरहेको छ।
रघुगङ्गा नदी किनारको छरीस्थित विद्युत्गृहमा कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीस्थित बाँधबाट सुरुङ र पेनस्टक पाइपमार्फत ल्याइएको पानी खसालेर विद्युत् उत्पादन गरिनेछ। आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेनस्टक टनेल निर्माण गरिएको छ।
आयोजनामा ३० प्रतिशत लगानी गैरआवासीय नेपाली र नेपाली नागरिकहरूको रहेको छ भने बाँकी ७० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट गरिएको हो। कुल लागत रु तीन अर्ब ६० करोड अनुमान गरिएको आयोजनाको निर्माण कार्यमा सिभिल पक्षको जिम्मेवारी साकुरा पावर–त्रिपल एस जेभीले लिएको हो भने इलेक्ट्रोमेकानिकल काम टोयर हाइड्रोले लिएको हो।













