स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा एक हजार अस्थायी जनशक्ति थपिने

२१ बैशाख २०८२, आईतवार १२:५९

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको भुक्तानी मूल्यांकन क्षमतामा सुधार गर्न अस्थायी जनशक्ति थपिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जनशक्ति थपको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका लागि ४०२ जना अस्थायी जनशक्ति स्वीकृत गरेको छ। तीमध्ये ५६ जना अधिकृतस्तरका र ३४६ जना सहायक तथा श्रेणीविहीन कर्मचारी छन्।

हाल बोर्डमा जनशक्ति अभावका कारण केवल गत साउनसम्मको दाबी मूल्यांकन सकिएको छ। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले नयाँ जनशक्तिले चालु आर्थिक वर्षभित्र बाँकी दाबीको मूल्यांकन सक्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी मन्त्रिपरिषदको निर्णयअनुसार तीन अस्पतालमा पनि अस्थायी जनशक्ति थपिएको छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९ जना, गेटा अस्पताल धनगढीमा १४१ जना र डडेलधुरा अस्पतालमा ३१३ जना दरबन्दी थपिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार संगठन तथा व्यवस्थापन संरचना नतोकिँदासम्म यो व्यवस्थाले सेवा सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*