सरकारी कार्यालयमै थन्किए २ हजारभन्दा बढी गाडी, सांसद बरालको संसदमा सवाल

२२ बैशाख २०८२, सोमबार ११:५३

काठमाडौं । काठमाडौँ र काठमाडौँ बाहिरका धेरै सरकारी निकायमा हजारौं सवारी साधन प्रयोगविहिन अवस्थामा रहेको विषयमा प्रतिनिधिसभामा सांसद सुनिता बरालले ध्यानाकर्षण गराएकी छिन् ।

उनका अनुसार सरकारले यस्ता प्रयोगविहिन सवारी साधन व्यवस्थापनका लागि कार्यदल गठन गरे पनि कार्यान्वयनमा ध्यान नदिएको देखिएको छ । कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार विभिन्न मन्त्रालय र निकायमा गरी २ हजारभन्दा बढी सवारी साधन प्रयोगमा नरहेको उल्लेख छ ।

प्रतिवेदनमा तथ्याङ्क अद्यावधिक नहुनु, समयमा लिलामी प्रक्रिया अगाडि नबढाइनु, मूल्य निर्धारणमा कठिनाई हुनु, अभिलेख व्यवस्थित नहुनु र लिलामी गर्नुपर्ने सवारी साधनहरूले राजस्व नतिर्नुजस्ता समस्याहरू स्पष्ट रूपमा औंल्याइएको छ ।

सांसद बरालले यस्ता सवारी साधनले कार्यालय परिसरमा ठाउँ मात्रै ओगट्ने होइन, वातावरणमा समेत नकारात्मक असर पुर्‍याएको बताउँदै तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले कतिपय पुराना सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिने सम्भावना औंल्याउँदै त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि राखेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*