देश कालो सूचीको खतरामाः प्रचण्ड

२२ बैशाख २०८२, सोमबार १३:५४

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा बोल्दै सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारको कार्यक्रम जनताको जीवनसँग सरोकार राख्ने खालको नभई औपचारिकता मात्र पूरा गर्ने दस्तावेज भएको टिप्पणी गरे ।

‘नीति तथा कार्यक्रमले न सत्तापक्षका सांसदमा उत्साह जगाएको छ, न सर्वसाधारणमा नै अपेक्षा सिर्जना गर्न सकेको छ’ दाहालले भने, ‘सरकार दुई तिहाइको भनिएपनि परम्परा धान्न मात्रै कार्यक्रम ल्याइएको देखिन्छ ।’

उनका अनुसार मुलुकको अर्थतन्त्रमा देखिएको गम्भीर सुस्तीलाई ध्यानमा राखेर कृषि, पर्यटन र रोजगारीजस्ता क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा सरकार गम्भीर देखिएन । ‘सरकारको भविष्यको ऐना भनेको यही नीति तथा कार्यक्रम हो,” उनले भने, “तर सरकारले व्यवहारिक होइन, औपचारिकता मात्र पूरा गरेको छ ।’

दाहालले सरकार स्वास्थ्य समूहको लगाममा परेको, जनताको आवाज सुन्ने इच्छाशक्ति नभएको र लघुवित्तदेखि सरकारी निकायसम्मका गम्भीर समस्या नदेखिएको गुनासो गरे ।

उनले सम्पत्ति सुद्दिकरणसम्बन्धी कमजोरीकै कारण नेपाल ग्रे लिस्टमा परेको उल्लेख गर्दै भने, ‘अवैध कारोबार, राजस्व छलि र सरकारी सम्पत्तिको हिनामिना नियन्त्रण गर्न सकिएन भने देश कालो सूचीमा पर्ने खतरा अझै बाँकी छ ।’

दाहालले सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै २०४७ सालदेखि अहिलेसम्मका सबै सरकारी पदाधिकारीको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत राखे । ‘जनताले सबै थाहा पाइसकेका छन्, सरकार भ्रष्टाचारी बचाउने काममै लागेको छ’ उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीकै स्वरमा यति कटु आलोचना आउनु सरकारभित्र नीति निर्माणको दिशाविहीनता, असमझदारी र गम्भीर रणनीतिक अभावको संकेतका रूपमा हेरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*