स्वास्थ्य बीमा कार्यक्रम रोकिने होइन, बजेट व्यवस्थापन गर्दैछौं : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम रोक्न नपाउने स्पष्ट पारेका छन्। सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले बीमा कार्यक्रम बन्द गर्नेलाई अस्पताल दर्ता नवीकरण नहुने चेतावनी दिएका हुन्। ‘बीमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन, यदि कसैले रोकेको पाइएमा दर्ता नवीकरण गरिँदैन’ उनले भने।
सरकारी अस्पतालहरूले बीमा दाबी भुक्तानी नभएको भन्दै सेवा रोक्ने तयारी गरिरहेका बेला मन्त्री पौडेलले बीमा बोर्डमार्फत भुक्तानी प्रक्रिया तीव्र बनाइएको जानकारी दिए। ‘हिजो मात्रै चार अर्ब रुपैयाँ भुक्तानी गरिएको छ’ उनले भने, ‘बाँकी रकम चालु आर्थिक वर्षभित्र तिर्ने तयारीमा छौं।’ सरकारको प्राथमिकतामा रहेको यो कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट व्यवस्थापनमा जोड दिइएको उनको भनाइ थियो।
बीमा प्रणालीलाई अझ व्यवस्थित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना तथा नेपाल प्रहरीको परिवार कल्याणकारी कोषबाट सञ्चालित बीमा सुविधालाई एकीकृत प्रणालीमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। ‘स्वास्थ्य बीमा कार्यक्रम सुदृढ गर्न अहिले छुट्याइएको ७ अर्ब ५० करोड रुपैयाँ अपुग छ, कम्तीमा एक खर्ब रुपैयाँ आवश्यक पर्छ’ उनले भने, ‘सरकार स्रोत व्यवस्थापनमा क्रियाशील छ।’













