चैतमा निर्जीवन बीमकको ४ अर्बबढी व्यवसायः अग्रस्थानमा हिमालयन एभरेष्ट

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै चार अर्ब एक करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको चैत महिनाको तुलनामा उक्त ब्यवसाय ७.०१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए । यसअवधिमा ११ कम्पनीको ब्यवसाय बढेको छ भने तीन कम्पनीको घट्न पुगेको हो ।
चालु आर्थिक वर्षको चैत महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा कम्पनीलाई पछि पार्दै बीमा शूल्क आर्जनमा प्रथम स्थान हासिल गरेको छ । कम्पनीले चैत महिनामा मात्रै ५७ करोड ४९ लाख रुपैयाँको व्यवसाय गरेको छ । जुन गत आवको सोही महिनाको अवधिको तुलनामा २५ प्रतिशतले बढी हो ।
त्यस्तै, द ओरियण्टल इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा रहेको छ । कम्पनीले एक महिनाको अवधिमा ४५ करोड १० लाख रुपयाँको ब्यवसाय गर्न सफल भएको हो । कम्पनीले आर्जन गरेको ब्यवसाय गत चैत तुलनामा ३४ प्रतिशतले बढी हो ।
चैत महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत महिनामा ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको चैत महिनाको तुलनामा कम्पनीको व्यवसाय १५ प्रतिशतले घट्न पुगेको हो ।
साथै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत महिनामा ३५ करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३५ करोड १८ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ३५ करोड नौ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको चैत महिनामा नको इन्स्योरेन्सले २७ करोड ६९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २७ करोड ५३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ६२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड ६४ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
यता, प्रभु इन्स्योरेन्सले चैत महिनामा १४ करोड ७९ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ११ करोड ४७ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले तीन करोड ८७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । प्रकाशित विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आवको तुलनामा व्यवसाय बृद्धि गर्न सफल भएका छन् ।













