हवाई सेवा सुधार्न र कर्णालीको पर्यटन प्रवर्द्धन गर्न पर्यटनमन्त्रीलाई सांसद लामाको विशेष ध्यानाकर्षण

कामाडौँ । प्रतिनिधिसभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले कर्णाली क्षेत्रको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि संसदमा विशेष माग राखेका छन्। उनले विशेषगरी हुम्ला जिल्लाको पूर्वाधार, संस्कृति संरक्षण, जलवायु परिवर्तन र हवाई सेवा सुधारमा जोड दिएका छन्।
सांसद लामाले ‘हाम्रो हिमाल जगाउ, हाम्रो शिर जगाउ, हाम्रो मुटु जगाउ, सिङ्गो जीवन जगाउ’ भन्ने भावनात्मक अपिलसहित जलवायु प्रदूषण न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग माग गरे। उनले जललाई अमृत भन्दै त्यसलाई शुद्ध बनाउन आवश्यक नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, हरियो बन नेपालको धन भन्दै सांसद लामाले बन संरक्षण र विस्तारका कार्यक्रमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
सांसद लामाले हुम्ला जिल्लास्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू हल्जी गुम्बा, रलिन गुम्बा र खार्गो नाथलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पूर्वाधार विकासतर्फ उनले कर्णाली कोरिडोर अन्तर्गतको सडक खण्डमा आगामी वर्ष पर्याप्त बजेट विनियोजन गर्न माग गरे। कर्णालीको दुर्गम जिल्ला हुम्लाको हवाई पहुँच सुधार्नका लागि उनले सुर्खेत र नेपालगञ्ज विमानस्थलमा जहाज सधैं तयार राख्नुपर्ने आवश्यकता औंल्याउँदै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका छन्। साथै, हवाई टिकट चर्को भएकाले त्यसमा आवश्यक समायोजन गर्नुपर्ने माग समेत उनले राखे।













